काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समृद्धि र दिगो विकासका लागि निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित ‘सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि लगानी प्रवद्र्धन गर्ने सन्दर्भमा निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले निजी क्षेत्रसँगको सहकार्यमार्फत लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, “मुलुकको समग्र आर्थिक उन्नति र प्रगतिको प्रक्रिया सुदूरपश्चिमसँग पनि जोडिएको छ । यस्तो प्रक्रियामा तपाईं र हामी कसरी जोडिन सक्छौं भन्ने सन्दर्भमा हामी निजी क्षेत्रको बीचमा आएका हौं ।”
मुख्यमन्त्री शाहले सुदूरपश्चिममा लगानी आकर्षित गर्न देशभित्र र बाहिर रहेका सम्पूर्ण लगानीकर्ता तथा व्यवसायीलाई जोड्नुपर्ने आवश्यकता औंल्याए । उनले थपे, “सुदूरपश्चिमको विकास र निजी क्षेत्रको लगानी जोड्न चाहन्छौं । सुरुमा मुलुकभित्र रहेका र मुलुकबाहिर रहेका जति पनि लगानीकर्ता तथा व्यवसायी साथीहरू हुनुहुन्छ, सबैलाई एकसाथ अगाडि बढाउन चाहन्छौं ।”
यस अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले पनि सुदूरपश्चिममा लगानीका लागि उल्लेखनीय सम्भावना रहेको बताएका थिए । उनले भने, “पानी र लगानी एउटै प्रकृतिका हुन्छन्, जता ओरालो त्यतै बग्ने। यदि लगानी अनुकूल वातावरण निर्माण गर्यौं भने सरकारले नआऊ भने पनि लगानी आफैं आउनेछ ।”
कार्यक्रममा उपस्थित अन्य उद्योगी–व्यवसायीहरूले सुदूरपश्चिममा पूर्वाधार विकास, नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण निर्माण गर्न सुझाव दिएका थिए ।