पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न प्रचण्डको निर्देशन

hitkhabar.com


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै संगठनात्मक विस्तारमा ध्यान दिन नेताहरूलाई निर्देशन दिएका छन् ।

बैठकलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र उठेका बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे धारणा राखे । उनले पछिल्लो समय माओवादीप्रति जनविश्वास पुनः बढेको भए पनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि हासिल हुन नसक्ने बताए ।

सुदूरपश्चिममा भौतिक उपस्थित हुन नसकेको कारण प्रष्ट पार्दै उनले भने, “सचिवालय र इन्चार्ज कमरेडले सुदूरपश्चिम आउन आग्रह गर्नुभएको थियो, तर महिलाको राष्ट्रिय सम्मेलनलगायत केन्द्रीय गतिविधिका कारण म यो पटक भर्चुअलमार्फत सहभागी हुनुपर्‍यो । दशैंपछि म प्रत्यक्ष रुपमा प्रदेशमै आएर संवाद गर्नेछु ।”

प्रचण्डले बैठकमा सहभागी सबै जिल्ला संयोजक र इन्चार्जहरूको रिपोर्टिङको प्रशंसा गर्दै सुदूरपश्चिममा वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताए । उनले अब गाउँ–बस्तीमै पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्ने आवश्यकता औंल्याए ।

यस्तै, उनले पार्टीभित्र आत्मसमिक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई अझै सबल बनाउनुपर्नेमा जोड दिए । उनका अनुसार सरकारमा रहँदा हासिल उपलब्धि, खबरदारी अभियान र जनसंगठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादी केन्द्रप्रति जनविश्वास क्रमशः बढ्दो छ ।

सुदूरपश्चिमलाई राजनीतिक र सांगठनिक दृष्टिले सम्भावनायुक्त प्रदेशका रूपमा चिनाउँदै प्रचण्डले त्यहाँका नेता–कार्यकर्तालाई व्यवस्थित, योजनाबद्ध, केन्द्रित र परिचालित ढंगले अगाडि बढ्न निर्देशन दिए ।

प्रतिक्रिया