काठमाडौं । नेपाल र भारतबीच सम्पन्न गृह सचिवस्तरीय बैठकमा सीमापार अपराध नियन्त्रणका विषयमा सहकार्यलाई प्राथमिकता दिइएको छ ।
भारतको नयाँ दिल्लीमा मंगलबार र बुधबार दुई दिनसम्म चलेको बैठकमा नेपाली पक्षको नेतृत्व गृहसचिव गोकर्णमणि दुवाडीले गरेका थिए। शुक्रबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बैठकका विवरण सार्वजनिक गरियो ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार बैठकमा मुख्य रूपमा सीमापार अपराध, लागुऔषध ओसारपसार, मानव तस्करी, सम्पत्ति सुद्दीकरणलगायतका विषयमा छलफल भएको हो ।
तिवारीले भने, "महिला तथा बालबालिकासँग सम्बन्धित मानव तस्करी, अवैध लागुऔषध ओसारपसार र अर्थतन्त्रमा प्रतिकूल असर पार्ने कार्यहरू रोक्न दुवै देश गम्भीर छन् ।"
बैठकमा अपराधसँग सम्बन्धित सूचनाको तत्काल आदान–प्रदान गर्न सहमति भएको छ । यसबाट दुबै देशका सुरक्षा निकायहरूबीच सहकार्य सशक्त हुने विश्वास गरिएको छ ।
१२ सदस्यीय नेपाली टोलीमा गृहसचिव दुवाडीका साथमा नेपाल प्रहरीका एआइजी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका एआइजी गणेश ठाडामगर, राष्ट्रिय अनुसन्धान विभागका एआइजी टेकेन्द्र कार्की, प्रवक्ता सहसचिव रामचन्द्र तिवारीलगायत थिए ।
उता, भारतीय गृहसचिवको नेतृत्वमा भारतका सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी थिए ।