काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्न लागेको छ। तय कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा सुरु हुनेछ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ।
यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ संसदमा प्रस्तुत गर्ने तयारी गरेका छन्। उक्त विधेयक अघि बढाउन उनले पहिले प्रस्तुतिका लागि अनुमति माग्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ।
आजकै बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर जानकारी गराउने कार्यक्रम पनि रहेको छ।
उता राष्ट्रियसभाको बैठक भने अपराह्न १ः१५ बजे बस्नेछ। उक्त बैठकमा पनि प्रधानमन्त्री बालेन्द्र शाह ले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको जनाइएको छ।