नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको अधिकार, पहिचान र संवैधानिक मान्यता माओवादी जनयुद्ध र आन्दोलनकै उपलब्धि भएको बताएका छन्।
नवलपुरको कावासोती–१६ डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रले आयोजना गरेको जिल्ला स्तरीय भौदी खेल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले जनयुद्ध नभएको भए थारू समुदायले पाएको पहिचान, अधिकार र आयोग सम्भव नहुने बताए।
प्रचण्डले संविधान निर्माणको क्रममा थारूलाई मधेसी क्लस्टर वा मात्र आदिवासी जनजातिमा राख्ने बहस भइरहेका बेला माओवादीले थारूको ‘अलग क्लस्टर’ मान्यता र संवैधानिक आयोगको माग बलियो ढंगले उठाएको स्मरण गराए।
गण्डकी प्रदेशमा थारू जनसंख्या न्यून भएकाले स्वतन्त्र राजनीतिक प्रतिनिधित्व कठिन हुने प्रष्ट्याउँदै उनले नवलपुर क्षेत्रलाई विशेष वा स्वायत्त क्षेत्रका रूपमा घोषणा गर्नुपर्ने आवश्यकता औंल्याए।
थारू संग्रहालयका लागि छुट्याइएको झन्डै ७ बिघा जग्गाको भोगाधिकार अझै नआएको विषयमा चिन्ता व्यक्त गर्दै उनले यसलाई संसदमा प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा उठाउने प्रतिबद्धता जनाए।
परम्परागत थारू खेल ‘भौदी’लाई उनले नेपाली मौलिकता र थारू समुदायको विशिष्ट सांस्कृतिक सम्पदा भन्दै यसलाई ‘थारू समुदायको क्रिकेट’ को उपमा दिए। उद्घाटन कार्यक्रममा उनले केही क्षण खेलमा समेत सहभागिता जनाए।
युवाकालमा नवलपुरको त्रिभुवन टारस्थित विद्यालयमा करिब ६ महिना अध्यापन गरेको स्मरण गर्दै प्रचण्डले यो क्षेत्रमा आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए। साथै, संविधानले व्यवस्था गरेका स्वायत्त, विशेष र संरक्षित क्षेत्र अझै कार्यान्वयनमा नआएको उल्लेख गर्दै दलित, महिला, आदिवासीलगायत उत्पीडित समुदायहरूको अधिकार अझै अधुरो रहेको टिप्पणी गरे।