माओवादी केन्द्रले उत्पादनलाई प्राथमिकतामा राख्दै अभियान सुरु गर्ने

hitkhabar.com


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन संघर्ष हुने बताएका छन् ।

आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उत्पादनलाई समाजवादको मूल आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले भने, “हामी समाजवादको यात्रातर्फ जाँदैछौं भने यसको मूल आधार उत्पादन हो । उत्पादन सघर्षमा सिंगो पार्टी केन्द्रित नभइ समाजवाद सम्भव हुँदैन ।”

प्रचण्डले पार्टीका कतिपय नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसिरहेकाले जनतामा पार्टीप्रति भरोसा कमजोर बनेको उल्लेख गर्दै तत्काल सच्याउनुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार, शान्ति प्रक्रियापछि समाजवादी बन्नुपर्ने ठाउँमा कतिपय नेताहरू बिचौलिया र दलाल प्रवृत्तिमा अड्किएकाले पार्टी कमजोर बनेको छ । “अब पार्टीका हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ,” उनले भने ।

हेटौंडा महाधिवेशनले लिएको “युद्ध होइन, उत्पादन संघर्ष” भन्ने निर्णय कार्यान्वयनमा ल्याउन नसकिएको स्वीकार गर्दै अध्यक्ष प्रचण्डले अब भने जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्दै अभियान चलाइने स्पष्ट गरे ।

उनले कृषि, उद्योग, जडीबुटी, पर्यटन जस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र समाजवादको हुने भन्दै सहकारी आन्दोलनलाई पनि जनमुखी र समाजवादी मार्गमा अघि बढाउनुपर्नेमा जोड दिए ।

सरकारमा रहँदा दलाल, नोकरशाही र बिचौलियाविरुद्ध शुसासन, सामाजिक न्याय र समृद्धिको लडाइँ लडेको स्मरण गर्दै उनले भने, “दलाल, नोकरशाही र बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई माओवादी केन्द्रमा धेरै दिन स्थान छैन । माओवादी केन्द्र नै नेपालको रुपान्तरणकारी समाजवाद निर्माण गर्ने एक मात्र सम्भावना बोकेको पार्टी हो ।”

बैठकमा पार्टी उपाध्यक्ष बहादुर पुन ‘पासाङ’ले विभाग र संयन्त्रको अवधारणा प्रस्तुत गरे भने केन्द्रीय सदस्य सरदसिंह भण्डारीले कार्यविधि प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया