काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले संगठन सुदृढीकरण, विभागीय सक्रियता र उपनिर्वाचन तयारीलगायत ६ बुँदे निर्णय गरेको छ।
विहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले समसामयिक राजनीतिक परिस्थिति र संगठनात्मक गतिविधिबारे विस्तृत छलफल गर्दै आगामी रणनीति तय गरेको हो।
बैठकले संगठन गतिविधि, प्रशिक्षण कार्यक्रम र हस्ताक्षर अभियानको समीक्षा गर्दै आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ। साथै, पार्टीका चार केन्द्रीय विभागहरू — संगठन विभाग, प्रशिक्षण विभाग, अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागलाई अझ सक्रिय बनाउने निर्णय गरिएको छ।
प्रदेश, जिल्ला र स्थानीय तहसम्मको संरचना सुदृढ पार्ने लक्ष्यसहित वडा, पालिका र जिल्ला अधिवेशन तोकिएको तालिका अनुसार सम्पन्न गर्न सम्बन्धित प्रदेश इन्चार्जलाई जिम्मेवारी दिइएको छ। त्यस्तै, संगठन सुदृढीकरणका लागि रणनीतिक प्रस्ताव तयार गरी सचिवालयमा पेश गर्न निर्देशन दिइएको छ।
बैठकले रुपन्देही–३ उपनिर्वाचनलाई लिएर उम्मेदवार छनोट प्रक्रिया लोकतान्त्रिक, पारदर्शी र जनमुखी बनाउन प्रतिबद्धता जनाएको छ। प्रारम्भिक छनोटमा सहभागी ९ जना उम्मेदवारप्रति कृतज्ञता व्यक्त गर्दै सबैलाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरिएको छ। साथै, रूपन्देहीका नागरिक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई सहयोग र समर्थनका लागि धन्यवाद दिइएको छ।
पार्टी सञ्चालनलाई व्यवस्थित बनाउन बैठकले प्रारम्भिक निर्वाचन कार्यविधि, २०८२ र वडा परिषद् कार्यविधि, २०८२ स्वीकृत गरेको छ।
यस्तै, कृषि, स्वास्थ्य, उद्योग, वाणिज्य, श्रम, रोजगार र सहकारी क्षेत्रमा संलग्न विज्ञहरूलाई सम्बन्धित क्षेत्रमा समस्या विश्लेषण, समाधान खोजी र सुझावसहित प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिने निर्णय गरिएको बैठकले जनाएको छ।