काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिक अवस्थाको मूल्यांकन गर्दा विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको विचारलाई आधार बनाउनुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक गोष्ठीमा बोल्दै थापाले दक्षिण एसियाका मुलुकहरूसँग तुलना गर्दा नेपाल लोकतन्त्रको हिसाबले सहज अवस्थामा रहेको बताए।
‘पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भारतसँग तुलना गर्दा नेपाल लोकतन्त्रको दृष्टिले सहज अवस्थामा छ,’ थापाले भने, ‘लोकतन्त्रको मुख्य आधार आवधिक निर्वाचन हो। त्यसैबाट आएको शक्तिलाई सहज रुपमा सत्ता हस्तान्तरण गर्ने प्रक्रियामा नेपाल स्थापित भइसकेको छ।’
तर उनले नेपाली समाजमा बढ्दो असन्तुष्टि, बेचैनी र आक्रोशलाई गम्भीर रूपमा लिनुपर्ने औंल्याए।
‘हामी सबैले महसुस गरेको कुरा के हो भने नेपाली समाजमा बेचैनी व्याप्त छ,’ उनले भने, ‘पहिलेजस्तो आशा अहिले छैन। निराशा बढेको छ, आक्रोश छ। कहीं न कहीं आगो बलेको देखिन्छ। यो समस्या नेपालको मात्र नभई विश्वव्यापी हो।’
थापाले यस्ता चुनौतीपूर्ण परिस्थितिमा बिपी कोइरालाको लोकतान्त्रिक सोच र समाजवादी दृष्टिकोणलाई आत्मसात गर्दै समाधान खोज्नुपर्ने आवश्यकता रहेको धारणा राखे।