राजनीतिक प्रणाली र सोचमा गहिरो समस्या छ : बाबुराम भट्टराई

hitkhabar.com


काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान नेपाली राजनीतिमा गहिरो समस्यासहित अग्रगामी रूपान्तरणको आवश्यकता रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा लेखक प्रकाश विकल्पको पुस्तक ‘एन्टिथेसिस’ दोस्रो संस्करण प्रकाशन समारोहका अवसरमा आयोजित बहस कार्यक्रममा बोल्दै भट्टराईले विचारकै पुनःसंरचनाको खाँचो औंल्याए ।

उनले भने, “विचारकै पुनःसंरचना गरेर समयको परिस्थिति अनुसार अघि बढ्न जरुरी छ । अहिले विश्वभर विचारको खडेरी छ, यही हाम्रो मुल समस्या हो । संसारमा जुन ज्ञान, विज्ञान, प्रविधि र चेतना सिर्जना भएको छ, त्यसमा आधारित भएर नयाँ विचारको निर्माण गर्न जरुरी छ । हामीले विचारको नयाँ संस्करण तयार पार्नुपर्छ ।”

यसैक्रममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लेखित उपलब्धिहरू जनतासम्म पु¥याउन नसकिएकोमा चिन्ता व्यक्त गरे ।

शर्माले भने, “संविधानमा प्रगतिका कुरा लेखिएको छ तर ती जनताले भोग्न पाएका छैनन्। संविधानको उपभोग बनाउन सक्ने अवस्था सिर्जना गर्न हामी चुक्यौं। यो प्रश्न मैंले आफैंलाई गरेको हुँ, तर मेरो आत्मसमीक्षाले अरूलाई डरलाग्न सक्छ ।”

साथै उनले पछिल्लो समय संसद् प्रणालीप्रति पनि निराशा व्यक्त गर्दै भने, “अहिले त संसद्मा कानुन नै चोरी हुने अवस्था देखिन्छ। संसद्मा आइएछ, तर केका लागि भन्ने लाग्न थालेको छ । यो सायद अनुभवको थकान वा व्यवस्थाप्रति बढ्दो असन्तुष्टि पनि हुन सक्छ ।”

कार्यक्रममा ‘एन्टिथेसिस’ पुस्तकको दोस्रो संस्करण सार्वजनिक गर्दै सहभागीहरूले नेपाली राजनीतिको रूपान्तरणबारे विविध धारणा राखेका थिए ।

प्रतिक्रिया