काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा लिपुलेकसहितका संवेदनशील विषयमा नेपालको स्पष्ट अडान राखिएको बताएका छन् ।
शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहमा उनले नेपालको भूमिबाट दुई देशले व्यापारिक आदानप्रदान गर्न नमिल्ने कुरा चीनका राष्ट्रपतिसँग औपचारिक वार्तामा स्पष्ट राखिएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भने, “चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँगको दुईपक्षीय वार्तामा म लिपुलेक सम्बन्धी विषय पनि राखेको थिएँ । हाम्रो भूमिबाट दुई देशबीच व्यापारिक आवतजावत गर्न मिल्दैन भन्ने अडान मैले राखें । यसमा हाम्रो असहमति रहेको कुरा स्पष्ट भनेको थिएँ । यो कुरा आधिकारिक रेकर्डमै छ ।”
उनका अनुसार, राष्ट्रपति सी जिनपिङले नेपालको सार्वभौमसत्तामा कुनै पनि खलल नपुगोस् भन्ने चीनको अडान स्पष्ट गरेका थिए । ओलीले भने, “सी जिनपिङले नेपालको सार्वभौमसत्ताको सम्मान गर्ने र त्यसमा पूरा समर्थन गर्ने आश्वासन दिनुभएको छ ।”
प्रधानमन्त्रीले चीनले सिमाना विषयलाई नेपाल–भारतबीच वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएको समेत जानकारी दिए । साथै उनले नेपाल–भारतबीच छलफल गरेर समाधान खोज्ने तर तेस्रो पक्षलाई बीचमा नल्याउने कुरा पनि प्रष्ट पारे ।
ओलीले कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रिय हितमा सम्झौता नगर्ने आफ्नो प्रतिबद्धता दोहोर्याए । “आफ्नो राष्ट्रिय हित र अडान छाड्दैनौँ । देशको हितमा महत्वपूर्ण भूमिका खेल्छौँ । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो धारणा स्पष्ट राखिरहन्छ भन्ने हाम्रो मान्यता हो,” उनले भने ।