आवश्यक परे स्वदेश फर्कन तयार रहन बेलायतमा कुलमानको आह्वान

hitkhabar.com


लन्डन । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल रुपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन बेलायतमा बस्ने नेपालीहरुलाई आह्वान गरेका छन्।

आइतबार लन्डन नजिकै केम्प्टन पार्कमा तमु धिं युकेले आयोजना गरेको १६ औं नेपाली मेलालाई सम्बोधन गर्दै घिसिङले विदेशमा रहेका नेपालीले आफ्नो पहिचान, भाषा र संस्कृतिलाई जोगाएर राख्नु नेपालका लागि गौरवको विषय भएको बताए।

उनले सगरमाथा, भगवान गौतम बुद्ध र गोर्खाले नेपाललाई विश्वभर चिनाएको उल्लेख गर्दै गोर्खा सैनिकहरुको माग तत्काल सम्बोधन गर्न पनि आग्रह गरे।

घिसिङले “एक पटकको नेपाली सधैं नेपाली” भन्ने भावनाअनुरूप वंशजको नागरिकताको निरन्तरता आवश्यक रहेको बताउँदै त्यसमा आफू पूर्णरूपमा समर्थन रहेको स्पष्ट पारे।

नेपालमा सुरु गरिएको उज्यालो नेपाल अभियान को प्रसङ्ग उल्लेख गर्दै उनले बत्तीको मात्र नभई विकास र समृद्धिको उज्यालो नेपालभित्र ल्याउन सबैले साथ र सहयोग गर्नुपर्ने बताए।

खाडी मुलुक, अमेरिका र युरोप भ्रमणपछि बेलायत पुगेका घिसिङले २०७२ सालमा बनेको संविधानमा गैरआवासीय नेपाली (एनआरएन) नागरिकताको व्यवस्था भए पनि दश वर्ष बितिसक्दा पनि कार्यान्वयनमा नआएको भन्दै असन्तोष व्यक्त गरे।

“अब ढिला नगरिकन यसलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउनुपर्छ,” उनले जोड दिए।

त्यस्तै, एनआरएनलाई नेपाली सरह लगानी गर्ने वातावरण बनाउन राज्य जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया