काठमाडौं । केही दिनयता निरन्तर घटिरहेको शेयर बजार सोमबार सुधारिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा पुगेको छ ।
आइतबार नेप्से परिसूचक ३१.१७ अंकले घट्दै २७४९.८३ बिन्दुमा बन्द भएको थियो । परिसूचक उकालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा कम भएको छ ।
आइतबार ६ अर्ब ६ करोड १८ लाख रुपैयाँ बराबरको १ करोड ४८ लाख कित्ता शेयर कारोबार भएकोमा सोमबार ३२६ कम्पनीका १ करोड १४ लाख कित्ता शेयर मात्रै किनबेच भएका छन् । यसबाट ५ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार सेन्सेटिभ इन्डेक्स ३.७४ अंकले, फ्लोट इन्डेक्स १.१८ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४८ अंकले बढेका छन् ।
हिमस्टार उर्जा कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ६.०७ प्रतिशतले बढेर प्रतिकित्ता २६७.५० रुपैयाँमा पुगेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक ४.०८ प्रतिशत बढ्दै ६५९.९७ रुपैयाँमा पुगेको छ भने सिद्धार्थ बैंक ३.२८ प्रतिशत बढ्दै ३८८.७७ रुपैयाँमा बन्द भएको छ ।
त्यसैगरी उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य ७.६८ प्रतिशतले घटेर २२१२.०६ रुपैयाँमा झरेको छ । विकास हाइड्रोपावर ४.८८ प्रतिशत घट्दै ५१५.८० रुपैयाँमा, पियोर इनर्जी ४.७१ प्रतिशत घट्दै ८६५.२७ रुपैयाँमा झरेका छन् ।
सोमबार नेपाल रिइन्स्यारेन्स, एभरेष्ट बैंक, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र कुमारी बैंकको शेयर सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ ।