काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा उत्पन्न समस्याको मूल कारण नियमन कमजोर हुनु भएको बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाजको १५ औं स्थापना दिवसका अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले सहकारी ऐनअनुसार नीति तथा नियम बनाएर मन्त्रालय कार्यान्वयनको चरणमा अघि बढेको जानकारी दिए ।
मन्त्री अधिकारीले एक वर्षको अवधिमा धेरै कानुन निर्माण भएको र तिनलाई कार्यान्वयनको चरणमा लैजाने काम भइरहेको बताए । उनले भने, “सहकारी क्षेत्रमा काम गर्ने हामी सबै अभियन्ताले ऐनले भनेको अनुसार नीति र नियम बनाउने र त्यसलाई कार्यान्वयन गर्ने तर्फ जानुपर्छ । समयमा नियम पालना नगरी विधि उल्लंघन गरेर अघि बढ्दा समस्या आउने गरेको छ । सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ मा आवश्यक विषयवस्तु समेटिएको छ ।”
उनले कार्यविधि र नियमहरू ऐनभित्र नै बनेर जानुपर्ने भन्दै ऐनलाई परिवर्तन गरेर होइन सुधार गरेर अघि बढ्नुपर्ने धारणा राखे । “कार्यविधि बनाउने, नियम बनाउने काम ऐनकै अधीनमा हुन्छ । ऐनमा सुधार आवश्यक परे विज्ञ र सरोकारवालासँग छलफल गरेर ल्याउन सकिन्छ,” मन्त्री अधिकारीको भनाइ थियो ।
साथै, उनले नियमनको कमजोरीका कारण पनि सहकारी क्षेत्रमा समस्या आएको उल्लेख गर्दै सुधार सम्भव रहेकोमा जोड दिए । “द्वन्द्वकालको अवस्थामा जसले जसरी सक्छ त्यसरी सहकारी चलाएका कारण अहिले समस्या आएको हो । तर, हामी सबै मिलेर सहकारीलाई व्यवस्थित गर्ने हो भने समाधान सम्भव छ,” उनले स्पष्ट पारे ।