हेटौँडा – बागमती प्रदेश सरकारले पाँच नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएको छ । शुक्रबार आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई शपथ गराएका हुन् ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका थिए । मन्त्रालय भागबण्डाअनुसार, काभ्रेका कञ्चनचन्द्र बादेले सामाजिक विकास मन्त्रालय, रसुवाका प्रभात तामाङले आर्थिक मामिला तथा योजना मन्त्रालय, ललितपुरकी अर्मिला केसी नेपालले युवा तथा खेलकुद मन्त्रालय, भक्तपुरका सुरेश श्रेष्ठले संस्कृति तथा पर्यटन मन्त्रालय, र चितवनकी बिनु रायमाझीले सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्री बानियाँले २० साउनमा आफ्नै दल नेपाली कांग्रेसका ८ मन्त्री नियुक्त गरेका थिए । त्यसपछिको दोस्रो चरणमा पाँच जनालाई मन्त्री बनाएर १४ सदस्यीय मन्त्रिपरिषद् पूर्णता पुगेको छ ।
यसअघि कांग्रेसबाट खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रीमा सिन्धुपाल्चोकका कृष्ण तामाङ र बिना विभागीय मन्त्रीमा धादिङका शिवराज अधिकारी नियुक्त भएका थिए । पछिल्लो भागबण्डामा शिवराज अधिकारीलाई संस्कृति तथा पर्यटन मन्त्रालय जिम्मा दिइएको छ ।
त्यस्तै, नेकपा एमालेको तर्फबाट २० साउनमै विभिन्न मन्त्रालयमा नियुक्तिहरू भएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रीमा ललितपुरका मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रीमा काठमाडौंका डा. दिनेशचन्द्र देवकोटा, वन तथा वातावरण मन्त्रीमा रसुवाका भरत केसी, श्रम, रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका जयरथ थापा, र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीमा बिन्दु श्रेष्ठ नियुक्त भएका थिए।