काठमाडौं । यस वर्ष मनसुन अनियमित भएपछि देशभर धान रोपाइँमा उल्लेख्य गिरावट आएको छ। कृषि विभागका अनुसार साउन मसान्तसम्म मुलुकभर १३ लाख ६ हजार २९३ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको छ, जुन कुल रोपाइँ हुने क्षेत्रफलको ९४.९ प्रतिशत हो। यो अघिल्लो वर्षको तुलनामा ३.६४ प्रतिशतले कम हो।
विभागका वरिष्ठ कृषि अर्थविज्ञ तिलकराज चौंलागाईका अनुसार मनसुन कमजोर हुँदा विशेषगरी मधेश र कोशी प्रदेशमा ठूलो असर परेको छ। मधेशमा पानी नपरेर मध्ये मनसुनमै सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुपरेपछि धान रोपाइँ घटेको उनको भनाइ छ।
मधेशमा साढे १० प्रतिशतले कमी
देशको प्रमुख अन्न भण्डार मानिने मधेश प्रदेशमा यस वर्ष कुल क्षेत्रफलको मात्र ८६.३५ प्रतिशतमा धान रोपिएको छ। अघिल्लो वर्ष सोही अवधिमा यो दर ९७ प्रतिशत थियो।
३ लाख ७० हजार हेक्टर जमिनमा धान खेती हुने मधेशमा रोपाइँ ढिलो भएको र बीउ छिप्पिएकाले उत्पादनमा प्रत्यक्ष असर पर्ने चौंलागाईले बताए।
कोशीमा पनि असर
कोशी प्रदेशमा अघिल्लो वर्ष १०० प्रतिशत रोपाइँ भए पनि यस वर्ष ९७.२४ प्रतिशतमा सीमित भएको विभागको तथ्यांक छ।
बागमती, गण्डकी, लुम्बिनीलगायतका अन्य प्रदेशमा पनि केही ह्रास देखिएको छ।
उत्पादकत्वमा गिरावटको चेतावनी
विशेषगरी मधेश र कोशी प्रदेशमा उन्नत जातको धान छिट्टै रोप्नुपर्ने भएकाले ढिलाइ हुँदा बीउ छिप्पिने र उत्पादनमा असर पर्ने कृषि विज्ञहरूको चेतावनी छ।
धान उत्पादन घटेपछि धान तथा चामल आयात बढ्ने र त्यससँगै खाद्यान्न मूल्यवृद्धि हुने अनुमान गरिएको छ। मनसुन कमजोर भएकाले यस वर्ष धान उत्पादनमा उल्लेखनीय गिरावट आउने र यसले खाद्य सुरक्षा र महँगीमा असर पार्ने सम्भावना विज्ञहरूले औंल्याएका छन्।