तीन दशकपछि पूर्वाञ्चल विश्वविद्यालयमा सुरु हुने भयो एमबीबीएस पढाइ

hitkhabar.com


विराटनगर । स्थापना भएको तीन दशकपछि पूर्वाञ्चल विश्वविद्यालयले अन्ततः एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने ऐतिहासिक अवसर पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको शुक्रबारको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमतासहित एमबीबीएस कार्यक्रम सञ्चालनको अनुमति दिएको हो ।

स्वीकृति पाएसँगै कोशी प्रदेशका स्थानीयवासीदेखि शैक्षिक क्षेत्रसम्म उत्साह बढेको छ । सुन्दरहरैंचाका बासिन्दा केशव भट्टराईका अनुसार, एमबीबीएस कार्यक्रमले सुन्दरहरैंचा र सम्पूर्ण कोशी प्रदेशलाई शैक्षिक हवका रूपमा स्थापित गर्ने महत्त्वपूर्ण कदम चालिएको छ ।

सेनेट सदस्य रञ्जन ओझाले यो उपलब्धि स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा प्रदेशकै लागि एक ‘गेम चेन्जर’ हुने दाबी गर्दै भने, “अब प्रदेशका लाखौँ नागरिकले आफ्नै प्रदेशमै गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन्, र दक्ष चिकित्सकहरू यहीँबाट निस्कनेछन् ।”

विश्वविद्यालयले आयोगमार्फत छनोट हुने ५० जना विद्यार्थीलाई आगामी शैक्षिक सत्रदेखि अध्ययन गराउने तयारी गरिरहेको मुख्य अधिकृत फडिन्द्रराज गौतमले जानकारी दिए । उनका अनुसार, नेपाल सरकारको निर्णायक सहयोग र विश्वविद्यालयको चुस्त व्यवस्थापनले यो सपना साकार बनेको हो ।

विशेषज्ञहरूका भनाइमा, स्वीकृतिले कोशी प्रदेशमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा नयाँ आयाम थप्नेछ । तर दीगो व्यवस्थापन र पूर्वाधार सुदृढीकरणमा विश्वविद्यालयले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता पनि औंल्याइएको छ ।

प्रतिक्रिया