काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ भने देशमा अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव परेको छ ।
महाशाखाले जनाएको अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । यस क्रममा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभाग तथा अन्य केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा समेत हुन सक्ने चेतावनी दिइएको छ ।
यस्तै, आज राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसँगै पहाडी भूभाग तथा अन्य केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । साथै, कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।