रौतहट । रौतहट प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेका लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु भएको छ ।
शरीरको आधाभन्दा बढी भाग जलेका पासवानलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा बुधबार साँझ करिब ६ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले जानकारी दिए ।
माधवनारायण नगरपालिका–६ की २६ वर्षीया रुबीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले बुधबार बिहान पासवानलाई पक्राउ गरेको थियो । नहरअगाडि आत्मदाह गर्ने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
स्थानीय अस्पतालमार्फत थप उपचारका लागि कीर्तिपुर पुर्याइएका पासवानको एक भिडियोसमेत सार्वजनिक भएको छ । उक्त भिडियोमा उनले रुबीको हत्या गरेको स्वीकारेका थिए ।
केही दिनअघि गौरको मुडलवा गेट नजिक सुटकेसभित्र रुबीको शव भेटिएको थियो । यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।