मेघगर्जन, चट्याङसहित देशभर वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । देशमा अहिले पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको प्रभाव कायम रहँदा मौसम बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना तथा हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि यस्तै मौसमको प्रभाव देखिने अनुमान गरिएको छ।

यस्तै, कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति भने कोशी, मधेश र बागमती प्रदेशसहित पहाडी तथा हिमाली भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराईका भू-भागमा आंशिक बदली रहनेछ।

रातिको समयमा पनि कोशी प्रदेशका केही स्थान तथा मधेश, बागमतीसहित अन्य प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै, पहाडी भू-भागका एक–दुई स्थानमा समेत हल्का वर्षा हुन सक्ने जनाइएको छ।

मौसमका कारण दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा सामान्य प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया