जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारविरुद्ध जनकपुरधाममा चौथो दिन पनि सडक अवरुद्ध गर्दै प्रदर्शन गरेको छ ।
बिहीबार जनक चोकमा नाराबाजीसहित सडक अवरुद्ध गर्दै जसपाका नेता तथा कार्यकर्ताले "ओली सरकार मुर्दावाद", "झुठा मुद्दा खारेज गर" र "गौर हत्याकाण्डका योजनाकार प्रभु साहलाई कारबाही गर" जस्ता नाराबाजी गरेका थिए ।
जसपाले भूमि अध्यादेशविरुद्ध संसद्मा समर्थन नदिएपछि अध्यक्ष उपेन्द्र यादवलाई षड्यन्त्रपूर्वक गौर हत्याकाण्डमा फसाउन खोजिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । मुद्दा फिर्ता नलिए अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको छ ।
गत सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश दिएको थियो ।
२०६३ साल चैत ७ गते रौतहटको गौरमा मधेशी जनअधिकार फोरम र माओवादीबीच भएको झडपमा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।