काठमाडौं । देशमा हाल पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भाग तथा बाँकी हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ भने अन्य भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागसहित बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति भने तराईका थोरै स्थानहरूमा तुँवालो लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने अन्य भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि कोशी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रसहित गण्डकी प्रदेशको हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।