काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी व्यवस्था र कार्यान्वयन पर्याप्त नहुने भन्दै चरित्र र सोचमा परिवर्तन अनिवार्य भएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ संवाद’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मोडल शिक्षा (आदर्श शिक्षा) मार्फत नै दीर्घकालीन समाधान सम्भव हुनेमा जोड दिए।
“भ्रष्टाचारलाई हामी शून्यमा पुर्याउन सक्छौं, तर यो केवल ‘ल इम्प्लिमेन्टेसन’ र ‘ल इन्फोर्समेन्ट’ बाट सम्भव हुँदैन। मानिसले आफूभित्रैबाट ‘म गलत गर्दिन’ भन्ने सोच विकास गरे मात्र यसको अन्त्य हुन्छ,” ओलीले भने।
उनका अनुसार, कानुनले पत्ता लगाएर कारबाही गर्ने भए पनि वास्तविक नियन्त्रणका लागि समाजमा नैतिक मूल्य र शिक्षा प्रणालीमा सुधार आवश्यक छ। “कानुनी कारबाहीको भरमा मात्र यो सम्भव हुँदैन,” उनले स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले डिजिटल नेपाल अभियान सफल बनाउन पारदर्शिता, उत्तरदायित्व र नागरिक सचेतनालाई महत्वपूर्ण तत्वका रूपमा उल्लेख गरे।