राप्रपा पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

hitkhabar.com


काठमाडौं । नेपाल शिक्षक महासंघले बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना दिएको छ।

महासंघले विगतमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै शिक्षा विधेयक सच्याउन दबाब दिने उद्देश्यले पहिलो चरणको आन्दोलनअन्तर्गत धर्ना कार्यक्रम थालेको हो।

महासंघले अस्थायी शिक्षकको पदपूर्तिमा ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा र २५ प्रतिशत खुला प्रतियोगिता हुनुपर्ने माग राख्दै आएको छ। तर, विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला हुने व्यवस्था राखिएको भन्दै महासंघ असन्तुष्ट बनेको हो।

त्यस्तै, विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको, बालकक्षा शिक्षकको सेवा सुविधा स्पष्ट नभएको, संस्थागत विद्यालयका शिक्षकलाई अव्यवहारिक सरुवा प्रणालीले बाँधिएको भन्दै महासंघ आन्दोलित भएको छ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट भदौ ५ गते विद्यालय शिक्षा विधेयक पारित भइसकेको छ। महासंघले भने धर्ना कार्यक्रम भदौ २० सम्म निरन्तर गर्ने जनाएको छ।

प्रतिक्रिया