काठमाडौं । देशकै पुरानो र विशिष्टीकृत महिला स्वास्थ्य संस्था परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले शनिबार ६६औं वार्षिकोत्सव धुमधामका साथ मनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पतालले विगत वर्षमा हासिल गरेका उपलब्धि, सेवा विस्तारका योजना र मातृशिशु स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरियो ।
वि.सं. २०१६ सालमा ४० शैय्याबाट सेवा सुरु गरेको अस्पताल अहिले ४८९ शैय्या सञ्चालनमा ल्याएर लाखौं आमा तथा नवजात शिशुको आस्थाको केन्द्र बनेको छ ।
वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा मात्रै करिब २१ हजार सफल प्रसूति गराइएको छ भने बहिरंग विभागमार्फत २ लाख ३३ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् ।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रीले प्रसूति गृहले नेपालको मातृशिशु स्वास्थ्य सुधारमा खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गरे । उनले अस्पतालले सुरु गरेको ‘नियोनेटल स्क्रिनिङ’, ‘ह्युमन मिल्क बैंक’ र पुनः सञ्चालनमा ल्याइएको ‘आईभीएफ सेवा’ जस्ता कार्यलाई राष्ट्रिय स्वास्थ्य प्रणालीकै लागि अनुकरणीय भएको उल्लेख गरे ।
उनका अनुसार आगामी दिनमा अस्पताललाई थप ११ बेड विस्तार गरी ५०० शैय्या बनाइनेछ । साथै काठमाडौंका दुई नगरपालिकामा २५–२५ शैय्याका स्याटेलाइट प्रसूति अस्पताल निर्माण गर्ने सम्झौता भइसकेको र उपत्यकामा बढ्दो चापलाई त्यसले सहज बनाउने विश्वास व्यक्त गरे ।
‘प्रसूति गृह केवल एक अस्पताल मात्र होइन, यो लाखौं आमा–शिशुको जीवनसँग जोडिएको राष्ट्रिय धरोहर हो,’ मन्त्रीले भने, ‘नवजात शिशुको मृत्युदर घटाउन अस्पतालले सुरु गरेका नियोनेटल स्क्रिनिङ र मिल्क बैंक कार्यक्रम अत्यन्तै महत्वपूर्ण छन् । पुनः सुरु भएको आईभीएफ सेवाले निःसन्तान दम्पतीका लागि ठूलो आशा जगाएको छ ।’