काठमाडौं । काठमाडौंमा सोमबार भएको जेन–जी आन्दोलनमाथिको सरकारी दमनपछि मधेश प्रदेशमा आक्रोश फैलिएको छ । सोमबार मात्र राजधानीमा भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि मंगलबार जनकपुरधामका हजारौं युवाहरु सडकमा उत्रिएर सरकारी निकायसहित दलका नेताहरुको घरमा तोडफोड र आगजनी गरेका छन् ।
जनकपुरधामस्थित मधेश प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश भवनभित्र रहेका विभिन्न मन्त्रालय र मन्त्रीका क्वाटर, कृषि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, शिक्षा तथा संस्कृति मन्त्रालयमा आक्रोशित युवाहरुले तोडफोड गर्नुका साथै कार्यालयमा रहेका कागजात र सामग्री जलाएका छन् । साथै करिब दुई दर्जन सवारी साधनमा समेत आगजनी गरिएको छ ।
युवाहरुको आक्रमण दलका शीर्ष नेताको घरमा समेत पुगेको छ । उनीहरुले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको निवास, एमाले नेता रघुवीर महासेठको घर र एमाले पार्टी कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् ।
‘केपी ओली मुर्दावाद’, ‘शेरबहादुर देउवा मुर्दावाद’, ‘भ्रष्टाचार गर्न पाइँदैन’ जस्ता नारासहित युवाहरु राजधानीदेखि प्रदेशसम्म आक्रामक मुद्रामा उत्रिएका छन् ।
स्थानीय प्रशासनले परिस्थिति नियन्त्रणमा लिन सुरक्षा बल तैनाथ गरे पनि हजारौंको संख्यामा युवाहरु सडकमा उत्रिएकोले अवस्था तनावग्रस्त बनेको छ ।