काभ्रे । काभ्रेको बनेपा नगरपालिका–४ थापापाउँमा अवस्थित सगरमाथा ग्यास उद्योग प्रालिले उत्पादन गर्दै आएको ‘सगर ग्यास’का तीन हजार ३० वटा एलपी ग्यास सिलिन्डर नष्ट गरिएको छ।
मिति गुज्रिएका तथा हाइड्रोलिक परीक्षण (टेष्ट) फेल भएका सिलिन्डरहरू आइतबार विशेष कार्यक्रममा नष्ट गरिएको हो। नेपाल आयल निगम, नेपाल गुणस्तर तथा नापतौल विभाग, उपभोक्ता अधिकार अध्ययन मञ्च, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थितिमा सिलिन्डर नष्ट गरिएको सगरमाथा ग्यास उद्योगले जनाएको छ।
सगरमाथा ग्यास उद्योग प्रालिका सञ्चालक सावरमल अग्रवालका अनुसार वार्षिक कार्यक्रमअनुसार गुणस्तरीय एलपी ग्यास मात्र बजारमा उपलब्ध गराउन सिलिन्डर नष्ट गरिएको हो। उनले भने, “आयल निगमको निर्देशन र गुणस्तर विभागको मापदण्ड पालना गर्दै हाइड्रोलिक परीक्षणमा फेल भएका, म्याद गुज्रिएका र पुनःप्रयोगयोग्य नभएका करिब तीन हजार ३० सिलिन्डर यस वर्ष नष्ट गरेका हौं।”
अत्याधुनिक मेसिनको प्रयोगमार्फत सिलिन्डर डिस्पोजल गरिएको अग्रवालले बताए। उनका अनुसार अहिले बजारमा साढे चार लाखभन्दा बढी ‘सगर ग्यास’का सिलिन्डर प्रयोगमा छन् भने दैनिक सात हजार पाँच सय सिलिन्डर भर्न (रिफिल) गरिँदै आएको छ।
ग्यास विस्फोट हुने घटनाबारे सञ्चालक अग्रवालले सिलिन्डर मात्र कारण नहुने बताए। “विस्फोट हुनुमा सिलिन्डरसँगै रेगुलेटर र पाइप पनि प्रमुख कारण हुन्छन्। त्यसैले हामीले प्रत्येक डिपोहरूलाई सचेत गराउँदै आएका छौं,” उनले भने।
सो अवसरमा नेपाल गुणस्तर तथा नापतौल विभागका प्राविधिक इन्जय कुमार मानन्धरले एनएच प्लान्ट ५३३ गुणस्तर मापदण्डअनुसार सिलिन्डर नष्ट गरिएको जानकारी दिए। उनका अनुसार अन्तर्राष्ट्रिय मान्यताअनुसार सिलिन्डर पहिलोपटक उत्पादन भएको मितिबाट २० वर्षसम्म मात्र प्रयोगयोग्य हुन्छ। पहिलोपटक १० वर्षमा हाइड्रोलिक परीक्षण गर्नुपर्ने कानुनी व्यवस्था रहेको र त्यसपछि प्रत्येक ५÷५ वर्षमा परीक्षण गरी म्याद नवीकरण गर्नुपर्ने प्रावधानअनुसार सिलिन्डर नष्ट गरिएको हो।