आज लक्ष्मीपूजा मनाइँदै

hitkhabar.com


काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज कार्तिक कृष्ण औंसीका दिन श्रद्धा र भक्तिसाथ लक्ष्मीपूजा मनाउँदै छन् । धन र समृद्धिको प्रतीकका रूपमा चिनिने यो पर्व मातृशक्ति, धर्म र सदाचारको प्रतीकका रूपमा पनि मनाइन्छ ।

ऋग्वेदमा ‘ओम् श्रीश्च ते लक्ष्मीश्च पत्नीः’ भन्दै लक्ष्मीलाई सम्पूर्ण सृष्टिमा व्यापी शक्ति र विश्वकल्याणकी अधिष्ठात्री देवीका रूपमा वर्णन गरिएको छ । लक्ष्मीलाई केवल धनकी अधिष्ठात्री नभई भगवान् विष्णुकी अर्धाङ्गिनी र धर्म–सदाचारतर्फ प्रेरित गर्ने मातृशक्ति मानिन्छ । ‘या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता’ भन्ने मन्त्रले पनि देवीको मातृत्व स्वरूप उजागर गर्छ ।

साँझको समयमा गृहस्थहरूले वैदिक विधिअनुसार माता लक्ष्मीको पूजा आराधना गर्छन् । पूजामा चन्दन, अविर, फुल, अक्षता, जौ, तिल, कौडा, कमलगट्टा र केसर आदिको प्रयोग गरिन्छ । लक्ष्मीलाई कमल, चन्दन, गुंगल र दीयोको उज्यालो अत्यन्त प्रिय मानिन्छ ।

लक्ष्मीपूजाको विशेषता भनेकै दीप प्रज्वलन हो । घर–आँगन, पसल, उद्योग, कलकारखाना र व्यापारिक प्रतिष्ठानहरूमा आज दीपावली गरेर लक्ष्मीको आराधना गरिन्छ । व्यापारिक बही–खाताबाट लिएर घरको देवालयसम्म लक्ष्मीको पूजा गरी श्रीसूक्त, लक्ष्मीसूक्त, गोपाल सहस्रनाम र विष्णु सहस्रनामावलीको पाठ गरी रातभरि जाग्राम बस्ने परम्परा छ ।

पौराणिक मान्यताअनुसार, कार्तिक कृष्ण औंसीका दिन भगवान् सदाशिवले लक्ष्मीलाई समर्पित दिनको घोषणा गरेका थिए । जनविश्वास अनुसार यस राति लक्ष्मी आफ्ना वाहन उल्लूमा सवार भएर पृथ्वी भ्रमणमा निस्कन्छिन् । त्यसैले उल्लू र कुबेर दुवैलाई लक्ष्मीको पूजा–आराधनासँगै स्मरण गर्नुपर्छ, अन्यथा देवी प्रसन्न नहुने मान्यता छ ।

भक्तिभावका साथ मन, वचन र कर्मले शुद्ध भएर पूजा गर्ने घरमा लक्ष्मी स्वयं प्रकट भएर सुख, शान्ति र समृद्धि प्रदान गर्छिन् भन्ने विश्वास छ । त्यसैले लक्ष्मीपूजा केवल धनसञ्चयको पर्व नभई मातृशक्ति, धार्मिकता र जीवन समृद्धिको प्रतीकका रूपमा सनातन परम्परामा गहिरो रूपमा स्थापित छ ।

प्रतिक्रिया