काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत सेवा उपलब्ध गराउन थालेको छ । नयाँ प्रणालीमार्फत खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवासहितका काम अब अनलाइनमै हुने भएका छन्।
विभागले नेपालस फूड एण्ड फिड इन्डस्ट्रि लाइसेन्सिङ सिस्टम सञ्चालनमा ल्याएको हो । मंगलबार विभागमा आयोजित अभिमुखीकरण तथा तालिम कार्यक्रममा महानिर्देशक संजीवकुमार कर्णको अध्यक्षतामा काठमाडौं उपत्यका र काभ्रेपलान्चोकका ७० भन्दा बढी उद्योगी व्यवसायी सहभागी भए । कार्यक्रममा अनलाइन प्रणाली प्रयोग गर्ने तरिका र सोबाट प्राप्त हुने सुविधाबारे जानकारी दिइएको थियो।
विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार नयाँ प्रणालीले सेवा प्रक्रियालाई पेपरलेस र फेसलेस बनाउन सहयोग गर्नेछ। हाल काठमाडौं र हेटौंडास्थित कार्यालयमार्फत मात्र सेवा उपलब्ध भए पनि निकट भविष्यमा देशभरका सबै कार्यालयमा विस्तार गरिने तयारी गरिएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा व्यवस्था भएअनुसार विभागले प्रवाह गर्ने सेवालाई प्रभावकारी बनाउन आवश्यक विद्युतीय प्रणाली विकास गरी प्रयोगमा ल्याइएको हो। सो ऐनअनुसार खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी र नवीकरणसमेत अनलाइनमार्फत हुने व्यवस्था गरिएको छ।