सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका–५, भाडसरमा लखन्देही खोलाले बगाउँदा एक युवकको ज्यान गएको छ। मंगलबार मध्यान्ह नुहाउने क्रममा खोलाले बगाउँदा १८ वर्षीय ओम ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार ठाकुर तीन साथीसहित खोलामा नुहाउन गएका थिए। तीमध्ये अन्य तीन जना पौडिएर सकुशल बाहिर निस्कन सफल भए पनि ठाकुर बगेर बेपत्ता भएका थिए। स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बलले खोजी गर्दा करिब दुई घण्टापछि ठाकुरलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जानकारी दिएको छ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले बताए। उनका अनुसार अन्य तीन युवाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू घर फर्किसकेका छन्।
07 Oct 2025