उपसभामुखलाई हटाउने प्रयास गलत, विरोध गर्छौं : अध्यक्ष प्रचण्ड

hitkhabar.com


काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयत्न गरिरहेको भन्दै त्यसको कडा विरोध गर्ने निर्णय गरेको छ ।

मंगलबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले गठन भएको दिनदेखि गल्ती बाहेक कुनै सकारात्मक काम नगरेको टिप्पणी गरे। उनले आदिवासी जनजाति समुदायकी महिला, जसले सामाजिक क्षेत्रमा योगदान दिएकी छिन्, उनलाई हटाउने प्रयास नै गलत भएको स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले भने, “उहाँहरूको प्रयास त पहिलेदेखिकै हो, तर त्यो गलत हो। यो सरकार बनेदेखि गल्तीबाहेक राम्रो काम त भएको छैन। एउटा महिला, आदिवासी जनजाति र सामाजिक सेवामा सक्रिय व्यक्तिलाई हटाउने प्रयास गलत भएकाले हामी त्यसको विरोधमा उभिन्छौं ।”

त्यस्तै, उनले उपसभामुख रानाले कुनै गलत काम नगरेको र उनलाई लक्षित गरी भइरहेको आरोप निराधार र कपोकल्पित मात्रै भएको दाबी गरे ।

पार्टीका प्रवक्ता अग्नि सापकोटाले बैठकले सरकार अधिनायकवादी ढंगतर्फ अघि बढिरहेको निष्कर्ष निकालेको जानकारी दिए । उनले भने, “सरकार तानाशाहीतर्फ लम्किरहेको छ । उपसभामुखलाई हटाउने जमर्को भइरहेको भन्ने कुरा सुन्नमा आएको छ । यो गलत हो। यसमा सरकारको बदनियत प्रष्ट देखिन्छ। त्यसैले अब अध्यक्षले सत्ता पक्ष र प्रतिपक्ष दलसँग यस विषयमा छलफल गर्नुहुन्छ ।”

माओवादी केन्द्रले भोलि पुनः बैठक बस्ने गरी आजको बैठक स्थगित गरेको पनि प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया