काठमाडौं । सरकारले स्वदेशमै उत्पादित स्वच्छ ऊर्जा प्रयोग र वातावरणीय प्रदूषण न्यूनिकरणका लागि विद्युतीय सवारीसाधन (ईभी) प्रवद्र्धन गर्ने नीति अवलम्बन गरेसँगै देशमा ईभीको आयात ह्वात्तै बढेको छ भने पेट्रोलियम पदार्थको आयात निरन्तर घट्दो क्रममा रहेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा ११ अर्ब ८४ करोड रुपैयाँ बराबरका ४ हजार ५० युनिट ईभी आयात भएका थिए। तीन वर्षपछि, २०८१/८२ मा यो संख्या बढेर १३ हजार ५६९ पुगेको छ । यस अवधिमा ३१ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ बराबरका ईभी भित्रिएका छन् । यस्तै, २०८०र८१ मा ११ हजार ७ सय युनिट ईभी आयात भएका थिए ।
त्यसै अवधिमा पेट्रोलियम पदार्थको आयात भने घट्दै गएको छ । २०७९/८० मा ३ खर्ब ९ अर्ब ७० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएकोमा २०८१/८२ मा यो घटेर २ खर्ब ८७ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ । २०८०/८१ मा ३ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार उपभोक्ता बिस्तारै ईभीतर्फ आकर्षित हुँदै गएकाले पेट्रोलियम पदार्थको खपत घटेको हो । उनका अनुसार डिजेल–पेट्रोलमा चल्ने गाडीप्रतिको आकर्षण घट्दै गएको र उद्योग–धन्दा तथा कलकारखानामा विद्युत प्रयोग बढ्दा पेट्रोलियम इन्धनको खपतमा गिरावट आएको छ ।
नेपालमा चीन, भारत, कोरिया, जर्मनी, मलेसिया, इन्डोनेशिया र अमेरिका लगायत मुलुकबाट ईभी भित्रिन्छन् । गत आवमा सबैभन्दा धेरै, अर्थात् ७५ प्रतिशत ईभी चीनबाट आयात भएका छन् । तथ्यांकअनुसार चीनबाट २४ अर्ब ७३ करोड ९० लाख रुपैयाँ बराबरका १० हजार २१६ युनिट आयात भएका हुन् । भारतबाट ३ हजार २४६ युनिट (६ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबर) ईभी आयात भई दोस्रो स्थानमा परेको छ ।