राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति न्यौपानेले गरिन् पदभार ग्रहण

hitkhabar.com


काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरी देवी न्यौपानेले बुधबार पदभार ग्रहण गरेकी छन् ।

सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा पदभार सम्हालेकी हुन् ।

समितिलाई मुख्यतया विधेयक र ऐन कानून निर्माणको जिम्मेवारी हुने उल्लेख गर्दै सभापति न्यौपानेले विधेयकहरूलाई सकेसम्म छिटो पारित गर्ने आफ्नो प्राथमिकता रहने बताइन् । उनले भनिन्, “यो समिति विधेयक र ऐन कानून बनाउनुपर्ने महत्त्वपूर्ण समिति हो । त्यसैले गम्भीर भएर आएको छु ।”

शपथ ग्रहण कार्यक्रममा गृहमन्त्री, कानून न्याय तथा संसदीय मामिला मन्त्री, रक्षा मन्त्री, युवा तथा खेलकुद मन्त्री, विपक्षी दलका नेता, संसदीय दलका नेता, सचेतक र अन्य समितिका सभापतिहरूको उपस्थिति थियो ।

नेपाली कांग्रेसकी सांसद न्यौपाने समितिको सभापतिमा अन्य कसैको उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया