काठमाडौं । नेपालको संविधान घोषणाको दशौं वार्षिकोत्सवलाई भव्यताका साथ मनाउन सरकारले तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ मूल समारोह समिति गठन गरेको हो ।
२०७२ असोज ३ गते जनताको बलिदानीपूर्ण संघर्ष र संविधानसभाबाट जारी संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई सम्झन तथा सम्मान गर्न हरेक वर्ष यो दिनलाई संविधान दिवसका रूपमा मनाइँदै आएको छ । यस वर्ष संविधान जारी भएको १० वर्ष पुगेकाले त्रिदिवसीय विशेष कार्यक्रमसहित यसलाई राष्ट्रिय उत्सवका रूपमा मनाउने निर्णय भएको हो ।
बैठकले आगामी असोज २, ३ र ४ गते देशभरका सरकारी तथा गैर–सरकारी संस्थान, विदेशस्थित नेपाली दूतावास र नियोगमा समेत दीपावलीलगायतका विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, मुख्यसचिव, प्रधानसेनापति, सचिव, विशिष्ट श्रेणीका कर्मचारी, काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख सदस्य रहनेछन् । गृह मन्त्रालयका सचिवलाई सदस्य–सचिव तोकिएको छ । बैठकले विषयगत उपसमिति पनि गठन गरेको छ ।
कार्यक्रमअनुसार असोज ३ गते काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा आमसर्वसाधारणको सहभागितासहित मुख्य समारोह हुनेछ भने प्रदेश र स्थानीय तहमा समेत विविध कार्यक्रम आयोजना गरिनेछ । यस्तै राष्ट्रिय गान र राष्ट्रभक्तिको साङ्गीतिक महोत्सव (नेशनल डे कन्सर्ट), झाँकी प्रदर्शनी, विशेष संवाद, परिसंवाद, नाटक तथा अन्य सन्देशमूलक गतिविधि सञ्चालन हुनेछन् । यी कार्यक्रम रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक तथा निजी संचारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रसारण गरिनेछ ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान दिवसलाई केवल उत्सवका रूपमा मात्र नभई विकास, राष्ट्रियता, आधुनिकता, मौलिक हक, महिला सशक्तिकरण, समावेशिता, लोककल्याणकारी राज्य र संस्कृतिसँग जोडेर जनस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिए । उनले विद्यालयदेखि वडा तहसम्म कार्यक्रम आयोजना गरी संविधानको उपलब्धि र महत्वलाई जनतासँग आत्मसात् गर्नुपर्ने बताए ।