काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शनिबार राजधानीको ऐतिहासिक तथा सांस्कृतिक पर्व ईन्द्रजात्रा अवलोकन गरेका छन्।
राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हिँडेर हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेका थिए। सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले उनलाई स्वागत गरेका थिए।
ईन्द्रजात्राको अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति पनि दिएका थिए। त्यसपछि परम्पराअनुसार रथयात्रा सुरु गरिएको थियो।
शनिबार बिहान भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा विधिपूर्वक इन्द्रध्वजोत्थान गरी यस वर्षको जात्रा आरम्भ गरिएको हो। आजलाई इन्द्रजात्राको मुख्य दिनका रूपमा मनाइँदै छ।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसहित मन्त्री, सांसद, प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरूको सहभागिता थियो।
इन्द्रजात्रामा हरेक वर्षजस्तै लाखे, दशावतार, महाकाली, पुलुकिसी, रामचन्द्रलगायतका सांस्कृतिक झाँकी र नाचगान प्रस्तुत गरिएका थिए।