काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सहित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा समेत मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।