काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ भने देशका अधिकांश भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भाग र बाँकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहने जनाइएको छ। अन्य पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसममा हुनसक्ने परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोध गरिएको छ।