काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने पार्टीको धारणा रहेको बताएका छन् ।
मंगलबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै उनले केपी ओली नेतृत्वको निरंकुश, स्वइच्छाचारी र अनैतिक प्रकारको भ्रष्ट सरकारको रवैया अस्विकार्य भएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।
उनले भने, ‘केपी ओली नेतृत्वको गठबन्धन सरकारको निरंकुश, स्वइच्छाचारी र अनैतिक प्रकारको भ्रष्ट सरकारको यो रवैया अस्विकार्य छ । यो सबै घटनाको जिम्मेवार व्यक्ति केपी शर्मा ओली प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ । युवाहरुको मागलाई सम्बोधन गरेर यो सबै अवस्थालाई साम्य गर्नुपर्छ भन्ने हाम्रो धारणा रहेको छ ।’
यस्तै, उनले केपी ओलीको नेतृत्वको सरकारले जेनजी पुस्ताको आन्दोलनमाथि गरेको दमन र लोकतान्त्रिक आन्दोलन सहरका जनआन्दोलनहरुमा अहिलेसम्म कै सबैभन्दा ठूलो दमन नरसंहारकै रुपमा भएको भन्दै घटनाप्रति खेद व्यक्त गरेका छन् ।
उनले भने, ‘पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा भएको प्रतिपक्ष दलहरुको बैठक भर्खरै सम्पन्न भएको छ । यसमा केपी ओलीको नेतृत्वको सरकारले हिजो मात्रै जेनजी पुस्ताको आन्दोलनमाथि गरेको दमन र लोकतान्त्रिक आन्दोलन सहरका जनआन्दोलनहरुमा अहिलेसम्म कै सबैभन्दा ठूलो दमन नरसंहारकै रुप लिएको घटनाप्रति खेद व्यक्त गरेको छ । घाइतेहरुको शिर्घ स्वास्थ्य लाभको शुभकामना गरेका छौ । हामी प्रतिपक्ष दलको रुपमा गणतन्त्रकै कलंकको रुपमा हेर्न सकिने घटना भएको छ ।’
यो युवाहरुको आन्दोलनलाई कुनै पार्टीको स्वामित्वमा लिन खोज्नु गलत हुने भन्दै हिजो भएको घटनाको छानबिन गर्नको लागि उच्च स्तरिय न्यायीक आयोग गठन गरेर छानबिन गर्ने र दोषिमाथि कारबाही गर्न माग गरेको पनि उनको भनाई छ ।