काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण देशका विभिन्न स्थानमा बदली तथा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहने सम्भावना छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र अशिनासहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
यसैगरी तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।