गफ र भाषणले युवा पलायन रोकिदैन : पूर्व मन्त्री गुरुङ

hitkhabar.com


स्याङ्जा । नेपाल सरकारका पूर्व मन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गफ र भाषणले मात्रै युवा पलायन रोक्न नसक्ने स्पष्ट गर्नुभएको छ ।

शुक्रबार भिरकोट नगरपालिका–७ मा श्री कालिका पुस्तकालयको आयोजनामा सम्पन्न जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रममा सम्बोधन गर्दै उहाँले मुलुकमा विकास नहुँदा युवाहरू विदेशिन बाध्य भएको उल्लेख गर्नुभयो ।

नेता गुरुङले नेताहरूबीचको गालीगलौज संस्कृतिले देश विकासमा अवरोध पुर्‍याएको भन्दै केवल भाषण र आरोप–प्रत्यारोपले मुलुक समृद्ध नबन्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हामी माइक पाउनेबित्तिकै एक नेताले अर्को नेतालाई गाली गर्ने प्रवृत्ति बढेको छ । यसले गर्दा विकास पनि अवरुद्ध भएको छ ।”

देशलाई समृद्ध बनाउन जडीबुटी, पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । युवाहरूलाई रोजगारीको आवश्यकता रहेको भन्दै उहाँले भन्नुभयो, “बुबा, आमा, भर्खर बिहे गरेकी श्रीमतीलाई छोडेर रुदै विदेशिने रहर कसैलाई हुँदैन, युवालाई भाषणभन्दा पनि रोजगारी चाहिएको छ ।”

यस अवसरमा उहाँले स्याङ्जा हुँदै जाने सिद्धार्थ राजमार्गको स्तरउन्नतिको तयारी अन्तिम चरणमा पुगेको जानकारी पनि दिनुभयो । उहाँका अनुसार छिट्टै डेडिकेटेड डबल लेनमा राजमार्ग स्तरउन्नति प्रक्रिया सुरु हुनेछ ।

स्याङ्जाका ग्रामीण क्षेत्रमा रहेका जोखिमयुक्त सडकलाई जोखिममुक्त बनाउन अभियान जारी रहेको उल्लेख गर्दै उहाँले विकास एक व्यक्तिले मात्र सम्भव नभएको, बरु सबै राजनीतिक दल, नेता, नागरिक र सरकार मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया