काठमाडौं । अधिवक्ता स्वागत नेपालले भ्रष्टाचार अन्त्यका लागि मृत्युदण्ड अनिवार्य बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले पूर्वीय दर्शनले समेत मृत्युदण्डलाई स्वीकार गरेको उल्लेख गर्दै “भ्रष्टाचार गर्नेको एउटामात्र कानूनी व्यवस्था मृत्युदण्ड नै हो” भनेर जोड दिए ।
उनका अनुसार तत्कालीन समयमा मनुस्मृति ले बलात्कारीको लिङ्ग काट्नुपर्ने व्यवस्था गरेको थियो भने भ्रष्टाचारका सन्दर्भमा पनि मृत्युदण्डलाई अन्तिम समाधानका रूपमा अघि सारेको स्मरण गरे । “भ्रष्टाचारको अन्त्यका लागि मृत्युदण्ड नै अन्तिम उपाय हो, त्यसपछि मात्र देखिन्छ अन्त्य हुन्छ कि हुँदैन ?” भन्दै उनले प्रश्न उठाए ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे पनि उनले टिप्पणी गर्दै, भारतमा १० वर्षको अवधिमा दुई जना मात्र प्रधानमन्त्री हुँदा नेपालमा भने ११ जना प्रधानमन्त्री भइसकेको तथ्य राखे । उनले भने, “नेपालका प्रधानमन्त्रीलाई जहिले पनि रातो कार्पेट ओच्छ्याएर स्वागत गर्ने फुर्सद हुन्छ तर यसको कुनै अर्थ छैन । अहिलेको परराष्ट्र नीति ‘दुई ढुङ्गाबीचको तरुल’ होइन, बरु ‘दुई तरुणबीचको ढुङ्गा’ बनेको छ ।”
यस्तै, सहकारी ठगी र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि रूपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको जेल सरुवाबारे पनि उनले सरकारप्रति आक्रोश प्रकट गरे ।
उनले अगामी कात्तिक १७ मा रूपन्देही–३ मा हुन गइरहेको प्रतिनिधिसभा उपनिर्वाचनलाई लक्षित गरेर लामिछानेलाई काठमाडौं सरुवा गरिएको बताए ।
उनको भनाइमा, “रूपन्देहीमा उहाँ त्यही जेलमा रहिरहँदा भेट्न आउने–जाने बढ्छ, जसले रास्वपाको चुनावी माहोल बढाउँछ । त्यसैले सरकारले त्यहाँबाट हटाएर काठमाडौं ल्याएको हो । कुनै दया मायाले होइन, चुनावी माहोललाई नियन्त्रण गर्ने उद्देश्यले मात्र गरिएको हो ।”