आजदेखि शेयर बजार नियमित सञ्चालनमा

hitkhabar.com


काठमाडौं । जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आएको छ । नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो ।

यसअघि असोज १ गतेदेखि बजार सुचारु गर्ने तयारी भए पनि सरकारले सो दिन जेनजी आन्दोलनका सहिदहरुको सम्मानमा राष्ट्रिय शोक दिवस घोषणा गरेपछि कारोबार हुन सकेको थिएन । त्यसैले आजबाट बजार सञ्चालनमा आएको हो ।

गत भदौ २३ गते अन्तिमपटक शेयर कारोबार हुँदा नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात् ३५.९९ अंकले ओरालो लागेर २,६७२.२५ विन्दुमा बन्द भएको थियो ।

बजार लामो समय बन्द भएपछि फेरि खुलेको दिन लगानीकर्तामाझ उत्साह देखिएको छ । धेरैले शेयर बजार खुल्नुपर्ने भन्दै दबाब दिएका थिए । तर, लगानीकर्ताहरुमाझ उतिकै अन्यौल पनि छ । बजार फेरि ओरालो लाग्ने हो कि भन्ने आशंका विशेषगरी नयाँ र साना लगानीकर्तामाझ बढी देखिएको छ ।

बजार बन्द हुँदा ठूला–साना सबै खाले लगानीकर्ताले आर्थिक घाटा बेहोर्नु परेको छ । विशेषगरी दैनिक कारोबारमा निर्भर ट्रेडरहरु यसबाट बढी प्रभावित भएका थिए ।

प्रतिक्रिया