काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल रहनेछ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ। साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा पनि हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यसैगरी सुदूरपश्चिम प्रदेशसहित लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।