काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिबारदेखि पाँच दिने औपचारिक चीन भ्रमणमा जाँदै छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा भाद्र १४ गते (शनिबार) चीन प्रस्थान गर्ने भएका हुन् । उनले त्यहाँ हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ मा भाग लिने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले जापानी आक्रामकता विरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्ध तथा विश्व फासिस्ट विरोधी युद्धको विजयको ८०औं वार्षिकोत्सवसम्बन्धी स्मृति समारोहमा समेत सहभागी हुनेछन् ।
त्यसक्रममा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दुईपक्षीय भेटवार्ता गर्नेछन् भने चीनका उपराष्ट्रपति हान झेङसँग पनि भेट गर्ने कार्यक्रम छ । भदौ १७ गते उनले तिआन्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने र त्यहाँ उपस्थित अन्य विश्व नेतासँग भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मालगायत उच्च अधिकारीसमेत भ्रमण टोलीमा रहने छन् ।