कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

hitkhabar.com


काठमाडौं । नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् ।

सिंहले आफ्नो राजीनामा पत्र कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाएका हुन् । विशेष अदालतले मनुस्मारा सिँचाई आयोजनासम्बन्धी आर्थिक अनियमितता मुद्दामा उनलाई दोषी ठहर गरेको थियो । त्यसपछि सर्वोच्च अदालतले समेत उक्त फैसला सदर गर्दै चार महिना १५ दिन कैद सजाय र एक करोड २३ लाख रुपैयाँ बिगो भराउने आदेश दिएको थियो ।

अदालतको आदेशलाई सम्मान गर्दै आफूले पद छाड्ने निर्णय गरेको सिंहले सार्वजनिक गरेको पत्रमा उल्लेख छ । ‘आफुमाथि लागेको मुद्दा अदालतबाट सदर भएको अवस्थामा छ,’ उनले भने, ‘अदालतको आदेश मान्नु मेरो कर्तव्य पनि हो ।’

सिंहले पदबाट राजीनामा दिएपनि आफू नेपाली कांग्रेसप्रति आस्था राख्ने र पार्टीको विचारसँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

२०७८ साल फागुन २९ गते सर्लाही सभापति पदमा निर्वाचित भएका सिंह यसअघि दुई कार्यकाल उपसभापतिको जिम्मेवारी सम्हालिसकेका थिए । अहिले भने कार्यवाहक सभापति तोकिएको छैन ।



प्रतिक्रिया