एससीओ प्लस बैठकमा प्रधानमन्त्री ओली : नवजीवित बहुपक्षीयता अपरिहार्य

hitkhabar.com


काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससीओ) प्लस बैठकलाई सम्बोधन गर्दै वर्तमान विश्वका चुनौतीहरू समाधान गर्न नवजीवित बहुपक्षीयता अपरिहार्य रहेको बताएका छन् ।

सोमबार तिआन्जिनमा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले विज्ञान, प्रविधि र नवप्रवर्तनमा विश्वले उल्लेखनीय प्रगति गरे पनि असमानता, जलवायु आपतकालीन अवस्था र सिमाना द्वन्द्वका कारण मानव सभ्यता संकटमा परेको बताएका थिए ।

“कुनै पनि देश एक्लै सुरक्षित हुन सक्दैन, कुनै पनि जनता विखण्डनमा समृद्धि हासिल गर्न सक्दैनन् । त्यसैले बहुपक्षीयता हाम्रो समयको अपरिहार्यता हो,” प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन् ।

एससीओ सदस्यताका लागि नेपालको तयारी

प्रधानमन्त्री ओलीले नेपाललाई एससीओको पूर्ण सदस्यका रूपमा प्रवेश गराउन सरकार प्रतिबद्ध रहेको पुनः स्पष्ट पारे । सन् २०१६ देखि एससीओको संवाद साझेदार रहेको नेपाल अब पूर्ण सदस्य बन्ने अवस्थामा रहेको उनको दाबी थियो ।

विश्व सुशासन पहलको स्वागत

चीनद्वारा प्रस्तुत विश्व सुशासन पहललाई स्वागत गर्दै उनले संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखी अझ न्यायपूर्ण, समावेशी र समान प्रणाली निर्माणमा यसले सहयोग गर्ने बताए । साथै, एससीओलाई अझ एकताबद्ध, समन्वित र लचिलो बनाई भूराजनीतिक, आर्थिक र वातावरणीय चुनौतीहरू सामूहिक रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

हिमालको संकट, मानव जीवनमा खतरा

क्षेत्रीय सुरक्षाबारे कुरा गर्दै उनले आतंकवाद, साइबर आक्रमण, महामारी र जलवायु परिवर्तनलाई सीमा नमान्ने खतराको रूपमा औंल्याए । हिमाललाई विश्वको जलवायु सन्तुलकका रूपमा चित्रण गर्दै उनले हिमालमा संचित बरफ हराउँदै जाँदा तल्लो भूभागका अर्बौं मानिसको जीवन संकटमा पर्न सक्ने चेतावनी दिए ।

सहकार्यमै समाधान

ओलीले आपसी सहकार्यलाई मजबुत बनाउन, मतभेदभन्दा आपसी समझदारी र प्रतिस्पर्धाभन्दा सहकार्यतर्फ सबै मुलुक लाग्नु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया