काठमाडौं । नेपालमा अहिले उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली (High Pressure Ridge) तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ भने दिउँसो मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
यस्तै तराई क्षेत्रका थोरै स्थानमा राति तुँवालो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।