आजको मौसम : पहाडी क्षेत्रमा बदली, केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना

hitkhabar.com


काठमाडौं । नेपालमा अहिले उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ। अन्य भू–भागमा आंशिक बदली रहने जनाइएको छ।

महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। साथै तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको बताइएको छ।

यस्तै, आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै तराईका थोरै स्थानमा तुँवालो लाग्ने सम्भावना रहेको छ।

प्रतिक्रिया