भक्तपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको उद्यमशीलता र पेशागत सीप विकासका अभियानमा सरकारले सक्रिय नेतृत्व लिनुपर्ने बताएका छन्।
भक्तपुरको थिमी ब्याङ्क्वेटमा युथ इको नेपालले आयोजना गरेको *‘एसिया लार्जेस्ट मेकअप वर्कसप’*को समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले महिलाको आर्थिक सशक्तीकरण, सीप विकास र पेशागत अवसर सिर्जनाका लागि राज्यको अग्रसरता अपरिहार्य रहेको बताए।
उनले भने, “म यो कार्यक्रम र महिला दिदीबहिनीको सहभागिता देखेर प्रभावित भएको छु। यस किसिमको काममा सरकारले नेतृत्व लिन आवश्यक छ। म पूर्वप्रधानमन्त्रीको हैसियतले पनि त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाउँछु।”
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी युवा महिलाको लगन, मिहिनेत र उत्साहको प्रशंसा गर्दै अध्यक्ष प्रचण्डले उनीहरूलाई प्रतीकात्मक रूपमा *‘बन्दुकविहीन महिलाहरूको सेना’*सँग तुलना गरे। उनले विश्वास व्यक्त गर्दै भने, “तपाईंहरूबाट देशभरका महिलाले प्रेरणा लिनेछन्। जनयुद्धमा पनि महिलामाथि हुने विभेदका विरुद्ध विद्रोह गरियो र त्यसमा महिलाहरूको उत्साहपूर्ण सहभागिता रह्यो। अहिले मेकअप वर्कसपमा तपाईंहरूको सहभागिताले पनि त्यस्तै ऊर्जा देखाएको छ।”
एकदिने उक्त वर्कसपमा देशभरिबाट २,१३१ जना सहभागी भई मेकअप तालिम लिएका थिए। कार्यक्रममा *‘एसिया लार्जेस्ट मेकअप वर्कसप’*को रेकर्ड कायम भएको आयोजक संस्थाले जनाएको छ।
सो अवसरमा अध्यक्ष प्रचण्डले उक्त रेकर्डको प्रमाणपत्र आयोजकलाई हस्तान्तरण गरे।