काठमाडौं । नेपालमा अहिले उपल्लो वायुमण्डलमा मौसम पूर्वानुमान महाशाखा का अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा बिहानको समयमा हुस्सु देखिनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति भने तराईका थोरै स्थानमा तुँवालो लाग्ने सम्भावना रहेको छ। देशका हिमाली भू–भागमा सामान्य बदली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।