आजदेखि संघीय संसद् अधिवेशन सुरु, सभामुख चयन प्रक्रिया अघि बढ्दै

hitkhabar.com


काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको पहिलो बैठक आज बस्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा संघीय संसद्को अधिवेशन दिउँसो २ बजेबाट सुरु हुने तय भएको हो।

संसद् सचिवालयका अनुसार आजको पहिलो बैठकका लागि ८ वटा कार्यसूची निर्धारण गरिएको छ। बैठकबाटै सभामुख चयन प्रक्रिया औपचारिक रूपमा सुरु गरिनेछ। सभामुख चयन भएपछि मात्र उपसभामुख चयनको प्रक्रिया अघि बढ्ने बताइएको छ।

बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले पहिलो बैठकमै सभामुख निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सहमति गरेको छ। उक्त बैठक ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बसेको थियो। बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा सांसद कवीन्द्र बुर्लाकोटीले सभामुख चयन प्रक्रिया तत्काल सुरु गर्ने सहमति भएको जानकारी दिएका छन्।

सहमति अनुसार फागुन २० गते उम्मेदवारी दर्ता र २२ गते निर्वाचन गर्ने कार्यतालिका तय गरिएको छ। यदि एक मात्र उम्मेदवार परेको अवस्थामा शुक्रबार नै नयाँ सभामुख चयन हुने सम्भावना रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद अर्याललाई सभामुखका रूपमा अघि सार्ने तयारी गरेको छ।

पहिलो बैठकमा विभिन्न आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ भने संसदमा प्रतिनिधित्व गर्ने प्रमुख ६ दलका शीर्ष नेताले शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको छ। साथै, राष्ट्रपति कार्यालयबाट प्राप्त सरकार गठन र अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने तथा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यसूची पनि रहेको छ।

यसैगरी, बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश प्रस्तुत गर्नेछन्। तीमध्ये मतदाता नामावली, प्रतिनिधिसभा सदस्य निर्वाचन तथा नेपाल विशेष सेवा सम्बन्धी अध्यादेश रहेका छन्।

बैठकको अन्त्यतिर प्रतिनिधिसभा विघटनपछि निधन भएका पाँच जना पूर्व सांसदप्रति शोक प्रस्ताव पारित गरिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।


प्रतिक्रिया